चितवनः भोट माग्न हिड्दै गर्दा भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा. भोजराज अधिकारीले माईकबाट ‘थाईराईड ठीक छ ?’ भनेर गरिएको प्रश्न टिकटकमा यतिबेला धेरैले हेरिरहेका छन् । फिजिसियन डा. अधिकारीले उक्त क्षेत्रका धेरै बिरामीको थाईराईड, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोगको नियमित परीक्षण गर्दै आउनु भएको थियो ।
आफ्नो बिरामी देख्ने वित्तिकै डा. अधिकारीको पहिलो प्रश्न हुने गर्दछ् स्वास्थ्यको । बिमार अनुसार उहाँले अवस्था सोध्ने र बुझ्ने गर्नुहुन्छ । झण्डा हालिएको गाडीमा पछाडि भोट माग्ने अभियानमा आफ्नो क्षेत्रका धेरै मतदाता अधिकारीका नियमित बिरामी छन् । मतदाताले विकास निर्माण भन्दा स्वास्थ्यका कुरा धेरै सोध्ने गरेका छन् ।
अधिकारीसँगै प्रचारमा रहनु भएका साजन अधिकारीका अनुसार पहिलो प्रश्न उपचारकै हुने गर्दछ । लामो समयदेखि अधिकारीको परीक्षणमा औषधि खाईरहेकाहरुले जितेर आफूहरुलाई नजाँच्ने हो भने भोट नै हाल्दैनौं समेत भन्ने गरेका छन् । डा.अधिकारीले भन्नुभयो “मसँग धेरैले स्वास्थ्यको प्रश्न गर्छन् ।” हिड्दै गर्दा आफ्ना बिरामी देखेपछि सोध्न मन लाग्ने भन्दै उहाँले फकाउनका लागि भन्दा पनि अरु बेलामा झै सोध्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “अरु बेलामा पनि म बिरामीलाई भेटेपछि स्वास्थ्य अवस्थाका बारेमा सोध्ने गर्छु ।”
भरतपुर अस्पताल विकास समितिका अध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा उभिनु भएका अधिकारी जिल्लाका चिनिएका फिजिसियन डाक्टर हुनुहुन्छ । दुई हजारभन्दा बढी आफ्ना नियमित बिरामी आफू चुनाव लड्दै गरेको क्षेत्रमा रहेको उहाँको भनाई छ । प्रचारकै क्रममा कतिपय बिरामीहरु प्रिस्किप्सन बोकेर देखाउन आउने गर्दछन् । कतिपय जटिल बिरामीलाई डा. अधिकारी गाडीबाट झरेर अवस्था बुझी आवश्यक सुझाव दिने गर्नुभएको छ ।
औषधि सकिएकाहरुलाई थप गर्न र मंसिर १० गतेपछि अस्पताल आउन डाक्टरले सुझाव दिने गरेको सहयोगी साजनले बताउनुभयो । कतिपयले आफू डाक्टरको उपचारले निको भएको भन्दै खुशी प्रकट गर्ने गरेको साजनको भनाई छ । १० वर्षपछि राजनीति गर्ने तयारीमा रहनु भएका अधिकारी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा गएपछि दाहालको उत्तराधिकारीका रुपमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार हुनुहुन्छ ।
Discussion about this post