अविरल वर्षाका कारण बितेको २४ घण्टामा बाढीले बगाएर चार जनाको मृत्यु भएको छ । त्यस्तै विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार बागलुङको गलकोट नगरपालिका–३ बोहोरा फाँट बस्ने ५४ वर्षीय धनबहादुर बोहोरा मृत अवस्थामा फेला परेका छन् ।
उनी छहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सुनसरीकै बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर स्थित कोशी नदीको भङ्गालोमा अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । झापाको बिर्तामोड नगरपालिका–१० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मु शनिबार मृत अवस्थामा फेला परेका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका–७ पाकरी बस्ने ४८ वर्षीया चन्द्रा बिष्ट खोलासैन सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
तनहुँको व्यास नगरपालिका–१३ बेलबास छाब्दी दोभानस्थित सेती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१० गाहाखोलास्थित आँधिखोला किनारमा नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरी मुख्यालयका अनुसार ललितपुरको महानगरपालिका–११ इखाचेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैबीच पाल्पाको माथागढि गाउँपालिका–६ माईलाचौर स्थित रहवास खोलाले बगाएर सोही ठाउँ बस्ने ६० वर्षीया रिमा सराहा राना मगरको मृत्यु भएको छ ।
काभ्रेको रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोलाले बगाएर सोही ठाउँ बस्ने ६५ वर्षीया जालमाया रुजाल मगर र उनकै भदैनी ५ वर्षीया सेतीमाया रुजाल मगरको पनि शनिबार बेलुकी मृत्यु भएको छ ।
यसैगरी उदयपुर, रौतामाई गाउँपालिका–५ आँपटार बस्ने नरेन्द्र राईको छोरा ५ वर्षीय राज राईको सोही ठाउँ स्थित अमृत खोलाले बगाएर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी मुख्यालयका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार शनिबार साँझसम्म ६ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका थिए ।
बाढीपहिरोबाट २५ जिल्ला प्रभावित छन् ।
Discussion about this post