३१ असार, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् ।सोमबार पदभार ग्रहण गर्दै उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन् ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या कसरी समाधान गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन् । उनले आफू जादु र चटकमा विश्वास नगर्ने भन्दै भूराजनीतिक विषय जटिल हुने धारणा राखिन् ।
विगतमा आफूले क्यानेडियन दूतावासमा काम गर्दा उनीहरूले आफ्ना नागरिकको संरक्षणका लागि के गर्छन् भन्ने थाहा पाएको परराष्ट्रमन्त्री राणाले बताइन् ।
अन्तर्राष्ट्रिय निकायहरूमा नेपालीको उपस्थिति कम रहेको भन्दै उनले अहिले आफ्नो व्यक्तिगत क्षमतामा मात्र नेपालीले अन्तर्राष्ट्रियस्तरमा उचाइ हासिल गरेको बताइन् । त्यसमा राज्यको स्तरबाट पहल गर्ने उनको भनाइ छ ।
Discussion about this post