काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताएका छन् । ‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’, आजपा अध्यक्ष साहले भने ।
यस्तै आजपा अध्यक्ष सा शनिबार नै बोलबम कवरिया संघको कालीमाटी स्थित कार्यक्रममा समेत सहभागी भए । भोलेनाथ बोलबम कवरिया संघको कार्यक्रममा सहभागी भएका साहले आयोजित मोटरसाइकल र्यालीको रिबन काटेर उद्घाटन मात्रै गरेनन् । धर्म, संस्कृतिको जगेर्नाका लागि सङ्घर्षमा उत्रिन आह्वान समेत गरे । विभिन्न समूह एवं अतिवादी समूहहरूबाट हिन्दु धर्ममाथि भइरहेको आक्रमण, विरोधलाई प्रतिकार गर्दै आफ्नो धर्म, संस्कृतिलाई जोगाउनुपर्ने उनले बताए ।
कवरिया संघको कार्यक्रम सकेर साह जोरपाटी स्थित छिमेकी पार्टी प्यालेसमा आयोजित आजपा निकटको आम ट्रेड युनियन फेडरेसनको काठमाडौँ उपत्यका विशेष भेला कार्यक्रममा सहभागी भए । जोरपाटी पुगेका साहले त्यहाँ मजदुरको हकहितका लागि सडक सङ्घर्षमा उत्रिन मजदुरलाई आह्वान गरे । नेपालको उधोग व्यवसाय धरासायी बन्दै गइरहेको र सरकारमा सहभागीहरू भ्रष्टाचारमा डुबेकाले अब मजदुरहरूले ढिला नगरी आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।
यसैगरी उनी सिनामंगल स्थित सेन्ट्रल कलेज पनि पुगे । सिनामंगलमा आम ईन्जिनियर्स एण्ड टेक्निकल एसोसिएसनको राष्ट्रिय भेलामा सहभागीलाई सम्बोधन गर्दै विद्यार्थीलाई आन्दोलनको तयारीमा जुट्न निर्देशन दिए । देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएको बताउँदै साहले बङ्गलादेशबाट पाठ सिकेर भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्ने बताए ।
अहिले नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी साहले गरे । एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेट तोड्न अब विद्यार्थी, मजदुर, व्यवसायी सहितकाले सामूहिक रूपमा सडक सङ्घर्षमा उत्रिनमा ढिलाइ गर्न नहुने बताए ।
आजपा अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प नभएको बताए । दलीय सिन्डिकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउँदै उनले भने, ‘एक त देशमा लोकतन्त्र नै छैन । लोकतन्त्र देखाउने दाँत मात्रै छ । दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेटले अब लोकतन्त्रसँगै दलतन्त्र समेत खतरामा परेको छ । यसले मुलुकमा थप संकटको सङ्केत गरेको छ ।’
लोकतन्त्र बचाउनका लागि काँग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उनले बताए । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागी भएका काँग्रेस र एमालेले जनतासँग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरू आफ्नै प्रतिबद्धता विपरीत सत्ता स्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उनले बताए ।
अहिलेको व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नुपर्ने बताए । काँग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुट्ने काममा लागेको आरोप उनले लगाए ।
Discussion about this post