२७ साउन, विराटनगर । अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो ।
हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अंश विवादका कारण उक्त घटना भएको हो ।
लक्ष्मणले अदालतमा जग्गा रोक्कासम्बन्धी मुद्दा हालेका थिए । पवित्राले घरेलु हिंसा र मानाचामल सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । तर अदालतले दुवैलाई मिलापत्र गराएको थियो ।
मिलापत्रपछि पनि माइत बसेकी श्रीमतीलाई मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर आइतबार खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । पत्नीको हत्यामा संलग्न भएको आरोपमा लक्ष्मणलाई घरबाटै पक्राउ गरेको डीएसपी बस्नेतले बताए ।
Discussion about this post