काठमाडौँ । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दाको फाइल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दाहालको इजलासमा पेस हुने भएको छ। जिल्ला अदालत कास्कीका श्रेष्तेदार राजन खनालका अनुसार म्याद थपको निर्णय गर्न न्यायाधीश दाहाललाई तोकिएको छ। लामिछानेको मात्र नभई अन्य म्याद थपका फाइलहरू पनि न्यायाधीश दाहालको इजलासमा पेस हुने उनले बताए ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार, हिमलाल बेल्बासे र चन्द्रकान्त पौडेल अझै बिदामा छन्। कास्कीबाट सरुवा भइसकेका न्यायाधीश महेन्द्रबहादुर थापा पनि आज अदालत पुगेको तर उनले मुद्दा हेर्ने छैनन्। रमाना नलिइसकेका कारण उनी कास्कीमै हाजिर भएका हुन् । बेल्बासे दसैँअघि नै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग बिदा मागेर तीन महिनाका लागि अमेरिका गएकाले अनुपस्थित भएका हुन् ।
शुक्रवार न्यायाधीश नभएको घटना बारे सर्वोच्चले छानबिन गर्ने
शुक्रवार अबेरसम्म कास्की अदालत न्यायाधीशविहीन भएको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गम्भीर रूपमा लिएर न्याय परिषदलाई छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्। उनले न्याय परिषद् सचिव यमबहादुर बुढालाई घटनाबारे बुझेर प्रतिवेदन दिन निर्देशन गरेका हुन् । उनले एकै पटक सबै न्यायाधीश किन अदालत खुलेको समयमा बिदा बसेको भनी प्रतिवेदन तयार गरी आगामी परिषद्को बैठकमा पेस गर्न भनिएको छ।
सचिव बुढाले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द, जिल्ला अदालतका न्यायाधीश तथा तथा कर्मचारीहरूसँग सोधपुछ थालेका छन् । प्रधानन्यायाधीशको सचिवालयका अनुसार एक नम्बर न्यायाधीश दाहालले अड्डा खुलेको दिन सेवा प्रवाहका विषयमा कुनै वैकल्पिक व्यवस्था नै नगरी ढुक्कले बिदा बसेका कारण यो परिस्थिति बनेको हो वा अरू कारण छन् भनी न्याय परिषद्ले छानबिनपछि प्रतिवेदन दिने छ ।
सचिव बुढाले प्रतिवेदन दिएपछि थप कदमबारे छलफल हुने प्रधान न्यायाधीशको सचिवालयले जनाएको छ।
Discussion about this post